एनसिई नेपाल बाजुराको ध्यानाकर्षण : शिक्षा क्षेत्र गुणस्तरीय र प्रभावकारी हुनुपर्ने माग

स्वास्थ्य-शिक्षा

बाजुरा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) बाजुराले बडी मालिका नगरपालिकालाई शिक्षा क्षेत्रमा गरिनुपर्ने महत्त्वपूर्ण सुधारको मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार एनसिई बाजुराका अध्यक्ष मदनराज जैशीले विभिन्न १३ वटा मागसहितको ध्यानाकर्षण पत्र नगर प्रमुख अमर बहादुर खड्का समक्ष बुझाएका हुन् ।

शिक्षा क्षेत्रका लागी विश्वव्यापी कार्य सप्ताह–२०२६ को अवसर पार्दै शैक्षिक क्षेत्रका मुद्धाहरुको सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष जैशीले जानकारी दिए । उनका अनुसार,नगर प्रमुख समक्ष १३ वटा मागहरू शिक्षा क्षेत्रको सुधारका लागी तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको बताए ।

ध्यानाकर्षण पत्रमा नेपालको शिक्षा क्षेत्रको विभिन्न विद्यमान अवस्थाको उल्लेख गर्दै,हाल बडी मालिका नगरपालिका भित्र रहेका विद्यालयहरूमा देखिएका मुख्य चुनौती,पूर्वाधारको अभाव, शिक्षक दरबन्दीको कमी, शिक्षण सिकाई पक्रियाको कमजोर अवस्था, विद्यार्थी भर्ना तथा टिकाउ दरमा समस्या, सिमानाकृत समुदायको न्यून पहुँच लगायत विभिन्न कुराले शिक्षा अधिकारको पूर्ण कार्यान्वयनमा अवरोध पारेको भन्दै विश्वव्यापी कार्य सप्ताहको आत्मसात् गरी विभिन्न १३ माग तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

शिक्षा क्षेत्रमा पर्याप्त लगानी सुनिश्चित गर्न नगरपालिकाको कुल बजेटमध्ये शिक्षा क्षेत्रमा न्यूनतम मापदण्ड अनुसार, पर्याप्त बजेट विनियोजन गरी प्रभावकारी कार्यान्वयन गर्नु माग गरिएको छ।त्यस्तै विद्यालय पूर्वाधार सुदृढीकरण, विभिन्न विद्यालयमा प्रविधियुक्त पठनपाठन, विद्यालय बाहिर रहेका बालबालिकाको समावेशीकरण गर्न माग गरिएको छ ।

त्यस्तै, शिक्षक व्यवस्थापन र क्षमता विकास, शिक्षक दरबन्दी पदपूर्ति,विषयगत शिक्षक नियुक्ति,तथा नियमित तालिम मार्फत पेसागत क्षमता अभिवृद्धि, गुणस्तरीय शिक्षण सिकाई प्रणाली, विद्यार्थी केन्द्रित,प्रविधिमैत्री तथा नवीन शिक्षण विधिहरू लागू गरी सिकाई उपलब्धि सुधारका साथै अनुगमन र मूल्याङ्कन प्रणालीलाई सुदृढ बनाउन आग्रह गरिएको अध्यक्ष जैशीले जानकारी दिए ।
सबैका लागी समान र समावेशी शिक्षा,विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन, विद्यालय बाहिर रहेका बालबालिकाको समावेशीकरण, सबै बालबालिका विद्यालयमा अभियान सञ्चालन गरी भर्ना तथा टिकाउ दर वृद्धि, पढ्दै कमाउँदै कार्यक्रम,प्रत्येक विद्यालयमा नर्सको व्यवस्थापन गर्न माग गरिएको हो ।

सुरक्षित,बालमैत्री र लैङ्गिक मैत्री वातावरण, जबाफदेहिता र सुशासन प्रवर्द्धन,पाठ्यक्रममा उल्लेख आवश्यक शैक्षिक सामाग्री तथा खेल सामाग्रीको व्यवस्थापन, स्थानीय सरकारको आन्तरिक स्रोतबाट कम्तीमा २० प्रतिशत रकम अनिवार्य लगानी गरिनु पर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

नगर प्रमुख खड्काले ध्यानाकर्षण पत्र बुझ्दै यसले समग्र पालिकाको शैक्षिक स्तरलाई गुणस्तरीय र प्रभावकारी बनाउन सहयोग गर्ने हुँदा उल्लेखित मागहरू पूरा गरिने बताए । अहिलेको युगमा शिक्षा विना कुनै पनि कुरा सम्भव नभएकोले शिक्षा क्षेत्रको सुधारका निम्ति नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । उनले समग्र पालिकाको शैक्षिक स्तर सुधारोन्मुख अवस्थामा रहेकोले अझै थप व्यवस्थित गरिने बताएका हुन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सन् २००३ देखि प्रत्येक वर्ष शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताहको आयोजना गर्दै आएको छ । नेपालमा अझै ३ देखि ५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको फ्ल्यास रिपोर्ट २०८२ ले देखाएको छ।भने आधारभूत तहमा ७५ देखि ८५ प्रतिशत र माध्यमिक तहमा ६० देखि ७० प्रतिशत मात्र हाजिरी दर रहेको उल्लेख गरिएको छ ।