ई–बिडिङ ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

Headlines समाचार

काठमाडौँ। सार्वजनिक खरिद (ई-बिडिङ) प्रणालीमा अनधिकृत पहुँच राखेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार सरकारी बोलपत्र प्रणाली (ई-बिडिङ) मा पहुँच बनाएर ठेक्का प्रक्रियामा हस्तक्षेप गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि पाण्डेलाई पक्राउ गरिएको हो।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत हुन्। अनुसन्धानका क्रममा उनले ठेक्का आफ्नो कम्पनीतर्फ पार्नका लागि सार्वजनिक खरिद प्रणालीको डकुमेन्टमा हेरफेर गरेको आरोप लागेको छ।

यसअघि पनि उनी विभिन्न भ्रष्टाचार मुद्दामा विवादमा तानिँदै आएका थिए। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ नहर निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनीसहित २१ जनालाई प्रतिवादी बनाइएको थियो र सो क्रममा उनी धरौटीमा रिहा भएका थिए।

सीआईबीका अनुसार हालको अनुसन्धान ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का प्रक्रियामा प्रत्यक्ष प्रभाव पारिएको विषयमा केन्द्रित छ। यस प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसकेको र अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

पाण्डे पूर्वमा सहरी विकास मन्त्री समेत भइसकेका हुन्। उनीविरुद्धको पछिल्लो पक्राउले सार्वजनिक खरिद प्रणालीको सुरक्षा र ठेक्का प्रक्रियामा पारदर्शिताबारे फेरि गम्भीर प्रश्न उठाएको छ।