सेयर हेरफेर प्रकरणमा उद्योगी शेखर गोल्छा पक्राउ, २ अर्ब बढी लगानी दुरुपयोगको आशंका

Sticky News आर्थिक

काठमाडौं । सेयर बजार हेरफेर तथा संगठित कारोबार प्रकरणमा उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

ब्युरो प्रमुख मनोज केसीका अनुसार जिल्ला अदालत काठमाडौंको अनुमति लिएर गोल्छालाई धितोपत्रसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष हुन्।

केसीका अनुसार गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ (उपदफा १) र दफा ९८ अन्तर्गतको कसुरमा सोही ऐनको दफा १०३ (उपदफा ३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिइएको हो।

धितोपत्र बोर्डले तयार पारेको ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३’ CIB मा प्राप्त भएपछि सोही आधारमा बिहीबार नै जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको ब्युरोले जनाएको छ।

उक्त प्रतिवेदनका आधारमा गोल्छासहित ६ जनामाथि संगठित रूपमा सेयर मूल्य हेरफेर गरेको आशंका गरिएको छ। प्रतिवेदन अर्थ मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालय हुँदै CIB मा पुगेपछि अनुसन्धान अघि बढाइएको हो।

प्रतिवेदनअनुसार दीपक भट्ट नेतृत्वको समूहले दोस्रो बजारमा कृत्रिम माग सिर्जना गरी सूचीकृत कम्पनीहरूको सेयर मूल्य बढाउने काम गरेको उल्लेख छ। सोही कारोबारमा गोल्छालाई ‘सहयोगी’का रूपमा समावेश गरिएको जनाइएको छ।