काठमाडौं, वैशाख २८ः कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ-आफ्नो मुलुक फर्केका छन् ।
नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ-आफ्नो मुलुक फर्किएका हुन् ।
सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो । सो अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेका अध्यागमन विभागले जनाएको छ । सो अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएको थियो ।

नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर लगेको बताइएको छ ।

