काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ तथा गृह मन्त्रालयका सचिवहरू, राजश्व प्रशासनका उच्च अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको सहभागिता रहनेछ। साथै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुनेछन्।
बैठकमा राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। अर्थमन्त्री वाग्लेले यस सम्बन्धमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

बिहान ११ बजे सुरु हुने बैठक करिब एक घण्टासम्म चल्ने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिनुभयो।
