काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई श्रम, उद्यम र इमानदारीको कदर हुने “गरिखाने मान्छेहरूको देश”का रूपमा स्थापित गर्ने लक्ष्यसहित अर्थतन्त्रको विकास अगाडि बढाइने बताएका छन्।
मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग भएको भेटघाटमा उनले निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकको आर्थिक आधार मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले राज्यले निजी क्षेत्रलाई आवश्यक सहजता प्रदान गर्ने स्पष्ट पार्दै उद्यमशीलता विस्तारका लागि सहजीकरण गरिने बताए। “तपाईंहरूलाई फैलने वातावरण राज्यले दिन्छ। हामी देश बनाउने हुटहुटीसहित आएका छौँ—आउनुस्, हातेमालो गरौँ,” उनले भने।

उनले इमानदार उद्योगी–व्यवसायीहरूलाई कानुनी जटिलताका कारण बदनाम हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यबाट कुनै किसिमको दुःख–हैरानी नपर्ने ग्यारेन्टी गरे।
अर्थतन्त्र सुधारका लागि आवश्यक नीतिगत सुझाव दिन निजी क्षेत्रलाई आग्रह गर्दै उनले भने, “उद्योग र अर्थतन्त्रलाई चलायमान बनाउन राज्यले के गर्नुपर्छ भन्नुस्, हामी तयार छौँ। तर तपाईंहरू पनि इमानदार हुनुपर्छ।”
वाग्लेले मुलुकको सर्वाङ्गीण विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षलाई एकजुट भएर काम गर्न आह्वान गरे।
उनले निजी क्षेत्रलाई पुनः इमानदारीमा जोड दिँदै भने, “राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, त्यसको जिम्मा म लिन्छु। तर नियोजित गल्ती र बेइमानीमा भने हामी निर्मम हुन्छौँ।”
त्यसैगरी, नेपाल अल्पविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नतिमा जाने विषयमा निजी क्षेत्रको चिन्ता आफूले बुझेको बताउँदै उनले तत्काल त्यस्तो अवस्था नआउने धारणा व्यक्त गरे।
