काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को कपिलवस्तुको तौलिहवा शाखामा कार्यरत एक कर्मचारीले १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ पर्नेमा सोही शाखामा कार्यरत रिशभ कार्की रहेका छन्।
प्रारम्भिक अनुसन्धानबाट कार्कीले बैंकको आन्तरिक प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी केही ग्राहकका खातासँग जोडिएका मोबाइल नम्बर परिवर्तन गरेको खुलेको प्रहरीले जनाएको छ। उनले ती खातामा आफ्नै मोबाइल नम्बर जोडेर मोबाइल बैंकिङ्ग तथा कनेक्ट आईपीएसमार्फत रकम स्थानान्तरण गरेको पाइएको छ।

प्रहरीका अनुसार कार्कीले विभिन्न ग्राहकका खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी हिनामिना गरेका छन्।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट पक्राउ गरेको हो।
हाल उनलाई बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास बाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले बैंकमा रहेका खाताहरू तथा मोबाइल बैंकिङ्गसँग जोडिएका नम्बरहरू यकिन गर्न र यस्ता सम्भावित जोखिमबाट जोगिन सबैलाई सचेत रहन आग्रह गरेको छ।
