अगेनाको तातोसँगै हराएको ठोसे: फलाम खानीदेखि खण्डहरसम्मको कथा

समाज

रामेछाप । कुनै समय पहाडको फेदीमा घन ठोकिएका आवाज गुञ्जिरहन्थे। १८ वटा खानीबाट निकालिएको फलाम पगाल्ने रातो रातो आगोको रापले ठोसे बजार सधैँ न्यानो हुन्थ्यो। तर आज, त्यही ऐतिहासिक ठोसे बजार मौन छ। खिम्ती खोलाको किनारमा अवस्थित यो पुरानो नेवारी बजार अहिले केवल भग्नावशेष र स्मृतिमा मात्र जीवित छ।

जङ्गबहादुरको ‘मेगजिन’ र फलामको रवाफ

ठोसेको कथा वि.सं. १९२१ बाट सुरु हुन्छ, जब राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले यहाँको फलामको महत्त्व बुझेर ‘मेगजिन अड्डा’ स्थापना गरे। यो केवल बजार मात्र थिएन, नेपालको सैन्य शक्तिको एउटा खम्बा थियो। यहाँ दैनिक ९ नाल बन्दुक तयार हुन्थे। कोदालो, हँसिया, र खुकुरी मात्र होइन, घोडाको टापदेखि दरबारका ताल्चासम्म यहीँको फलामबाट बन्थे।

वि.सं. १९५० मा अड्डा एकान फेदीबाट ठोसेमा सरेपछि यो बजार मध्यपूर्वकै सबैभन्दा चल्तीको व्यापारिक केन्द्र बन्यो। सयौँ मजदुर, व्यापारी र खानी सञ्चालकहरूको चहलपहलले ठोसे कहिल्यै निदाउँदैनथ्यो।

राजनीति र समयको प्रहार

समय बदलिँदै गयो। वि.सं. १९६५ पछि बन्दुक बनाउन छाडियो र घरेलु औजारमा मात्र सीमित भयो। वि.सं. १९७३ देखि खानी ठेक्कामा दिन थालियो, तर राज्यको उचित संरक्षण नहुँदा बिस्तारै चमक हराउन थाल्यो।

ठोसेको इतिहासमा २००७ सालको क्रान्तिले अर्को मोड ल्यायो। माघ १९ गते मेगजिनका ऐतिहासिक कागजातहरू जलाइए। वि.सं. २०२४ सम्म आइपुग्दा यहाँ रहेका सरकारी मेसिनरी सामानहरू कवाडीमा लिलाम गरिए। कतिपय सामान ठेकेदारले लगे, लैजान नसकेका केही अवशेषहरू आज पनि त्यहीँ अलपत्र अवस्थामा इतिहास गिज्याइरहेका छन्।

सगरमाथाको बाटो र आधुनिकताको मार

फलाम खानी बन्द भएपछि सुस्ताएको ठोसेले पर्यटनको माध्यमबाट पुनर्जीवन पाएको थियो। जिरी हुँदै सगरमाथा आधार शिविर जाने पर्यटकहरू ठोसेकै बाटो हिँड्थे। तर, जब शिवालयमा झोलुङ्गे पुल बन्यो, पर्यटकहरूले छोटो बाटो रोजे। पर्यटक हराएसँगै ठोसेको व्यापार पनि ओरालो लाग्यो।

व्यापार सुकेपछि स्थानीयहरू बिस्तारै काठमाडौँ र अन्य सहरतिर बसाइँ सर्न थाले। घरहरू खाली भए, दैलोमा ताल्चा लागे र बजार एक्लो बन्यो।

२०७२ को घाउ र वर्तमानको तस्बिर

बसाइँसराईले रित्तिएका ती पुराना र ऐतिहासिक घरहरूलाई २०७२ सालको महाभूकम्पले सदाका लागि ढालीदियो। स्थानीय होटल व्यवसायी गौतम श्रेष्ठका अनुसार, तल्लो बजार (पुरानो बजार) अहिले पूर्ण रूपमा खण्डहर बनेको छ। “भूकम्पले केही बाँकी राखेन, सबै भग्नावशेष मात्र छ,” उनी भन्छन्।

यद्यपि, पुरानो बजारभन्दा केही माथि ‘नयाँ बजार’ मा पक्की घरहरू बन्ने क्रम भने सुरु भएको छ। तर, ती घरहरूमा पहिलेको जस्तो रौनक र व्यापार छैन। ऐतिहासिक फलाम खानीको यो विरासत बोकेको ठाउँलाई यदि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके, ठोसेले फेरि एकपटक आफ्नो पुरानो साख फर्काउन सक्ने आशा अझै जीवित छ।