काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् ।
बिहीबार आयोगमा बुझाइएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ ।
थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीअन्तर्गत सवारी साधन भाडा खर्च तथा इन्धन खर्च, प्रतिबद्धता पत्र, नमुना मतपत्र, भिडिटिङ कार्ड, ब्यानर र झण्डाका लागि एक लाख १२ हजार ६६ रुपैयाँ खर्च गरेका छन्।

साथै विद्युतीय माध्यमबाट प्रचारप्रचारका लागि डिजाइन, फोटो र अडियोका लागि चार लाख ५२ हजार र अध्ययन अनुसन्धान र सामाजिक सञ्जालमा ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
विभिन्न बैठक, गोष्ठी तथा कार्यकर्ता परिचालनअन्तर्गत पार्टी बैठकका लागि १ लाख ७४ हजार ७४९, घरदैलोमा १ लाख ८६ हजार, निर्वाचन र मतगणना अवधिमा कार्यकर्ता परिचालनमा २ लाख ४८ हजार खर्च गरेका छन् ।
साथै, आठ वटा मोबाइल सेट खरिदमा ९ हजार ६०० रुपैयाँ, र रिचार्ज कार्डमा ९ हजार रुपैयाँ खर्च भएको छ । खर्च विवरणमा स्टेशनरी र विविध शीर्षकमा १ लाख ४४ हजार ४०८ रुपैयाँ गरी कुल २३ लाख २९ हजार ७५३ रुपैयाँ खर्च गरेका छन् ।
