बाजुरा । बाजुरामा हावाहुरीसंगै असिना पानी परेको छ । यहाँका नौं वटै स्थानीय तहमा असिना पानी परेको हो । आइतबार विहानबाटै मौसममा बदलिए आएसंगै चिसो समेत बढेको छ ।
हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौं, आलु, प्याज र टमाटर लगायतको तरकारी बालीमा असर परेको हो । यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पुर्याएपछि किसान चिन्तित बनेका छन्।
बाजुराको तल्लो भेग त्रिबेणी, खप्तड छेडेदह, गौमुल र बडीमालिकामा असिना पानीले असर पारेको हो । असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षती भएको बडिमालिका ७ का स्थानीय मोती पाध्यायले बताए ।
बाजुरामा बर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको उनको भनाई छ । असिना पानीले गहुँबालीमा क्षती गरेपनि भर्खरै लगाएका फलफुलका विरुवाहरुलाई भने राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
