नामको अनलाइन सम्मेलन

विविध

विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ- प्रम

काठमाडौं, वैशाख २३ः सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प नभएको स्पष्ट गर्नुभयो ।उहाँले यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुर्ने र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पुर्‍याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड-१९ विरुद्ध एकताको विषय दिइएको सो सम्मेलनमा प्रस्ताव गरिएको कोरोनाविरुद्ध असंलग्न राष्ट्रका आवश्यकता समावेश गरी तथ्याङ्कीय आधार निर्माण गर्न असंलग्न राष्ट्रहरुको कार्यटोली गठनको प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनले सदस्य मुलुकका सहयोगी कार्यमा समन्वय गर्न र विश्वव्यापी ऐक्यबद्धताको भावनानुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्न आह्वान गर्नुभयो ।

विश्व सामान्यावस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्दै उहाँले विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणको आदानप्रदानको माध्यमबाट दक्षिण दक्षिण सहयोगलाई अभिवृद्धि गर्न आग्रह गर्नुभयो ।

सम्भावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायलाई एक बलियो पुनःस्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रलाई सहकार्य र वकालत गर्न प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले विशेषतः अतिकम विकसित, भूपरिवेष्ठित तथा साना विकासोन्मुख टापु राष्ट्रमा यसका प्रभाव असीमित भएकाले यो संकटले विकासोन्मुख राष्ट्रप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापि प्रदान गर्न नहुने विचार राख्नुभयो ।

विश्वका १२० मुलुक आबद्ध नामले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा गरीबी, अस्वस्थता र अल्पविकसित अवस्थाविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभाउनुपर्नेमा जोड दिँदै उहाँले यो विद्रोह तथा लडाइँमा संलग्न हुने समय होइन भन्नुभयो ।

उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपालले समर्थन गर्ने पनि स्पष्ट गर्नुभयो । “यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ । साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ । अहिले मानवता जोखिममा छ ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

झण्डै दुई लाख पचास हजार जनाको मृत्यु भइसकेको र हाम्रा स्वास्थ्य सुविधामा थामिनसक्नु बोझ बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको र हाम्रो निरीहता उदाङ्गो तुल्याएको पनि उल्लेख गर्नुभयो ।

कोरोनाविरुद्धको सामूहिक लडाइँका लागि सम्पर्क समूह स्थापनामा अध्यक्ष इल्हम अलियेबले गर्नुभएको पहललाई नेपालका तर्फबाट स्वागत गर्दै प्रधानमन्त्री ओलीले नामका सदस्य राष्ट्र सबैलाई एक ठाउँमा ल्याउन गर्नुभएको पहलका लागि उहाँलाई धन्यवाद दिनुभएको थियो ।

सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष अलियेभले गर्नुभएको थियो । संवादमा विश्वव्यापी महामारी कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका मुख्य मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी हुनुभएको थियो । नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।