नेपालगञ्जमा मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय प्रशासनले गरेको निषेधाज्ञा स्थानीयले उल्लंघन गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।
निषेधित क्षेत्रको पालना नगर्ने स्थानीयलाई सम्झाउन खोज्दा नमानेकाले बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निषेधित क्षेत्रको पालना गराउन हिँडेका सुरक्षाकर्मी चढेको बा १ झ ८२८४ नम्बरको गाडीमा स्थानीयले तोडफोड गरेका छन् ।
झडपमा परेर दुई जना स्थानीय घाइते भएका छन् । बिस्कोरियन टोल त्रिवेणी मोडनिर रहेको संजय किराना स्टोर्सका संचालक ५७ वर्षीय शिव कुमार बानियालाई प्रहरीले कुटपिट गरेपछी झडप भएको स्थानीयको भनाइ छ ।

झडपपछि सुरक्षा सतर्कता बढाइएको छ । मंगलबार बिहान ११ बजेदेखि २५ गतेराती १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आवश्यक स्वाब परीक्षणमा संलग्न जनशक्तिबाहेकलाई घर बाहिर निस्किन पनि रोक लगाइएको छ ।
निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए । प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
