रक्सी किन्न एक किलोमिटर परसम्म लाइन

विविध

भारतमा पछिल्लो समय रक्सी पसलहरु खुल्न थालेका छन् । कोरोनाले कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउन थालिएको छ ।  यस्तोमा खाद्य सामग्री पाइने पसल, केही उद्योगहरु खुल्न थालेका छन् ।

यसबीचमा भारतका सबै क्षेत्रका मदिरा पसलहरु भने खोल्न दिइएको भारतीय संचारमाध्यमले जनाएको छ । मदिराजन्य पदार्थ खरिद गर्न पाइने भएपछि विभिन्न क्षेत्रमा रक्सी खरिद गर्नेको भीड नै लागेको छ ।

भारतीय संचारमाध्यममा दिल्ली, आन्ध्रप्रदेश, मध्यप्रदेश लगायतका क्षेत्रको तस्बिरहरु सार्वजनिक गरेको छ जहाँ मदिरा किन्नेहरुको भीड देखिएको छ ।

समाचार संस्था एएनआईका अनुसार सोमबार दिल्लीमा रक्सी किन्न जानेको भीड अत्यधिक थियो । उनीहरुले शारीरिक दुरीको नियम पालना गरेका थिएनन् । त्यसकारण भीडलाई व्यवस्थित बनाउन प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो ।

एएनआईले आन्ध्रप्रदेशको एक भिडियो नै सार्वजनिक गरेको छ । जहाँ रक्सी खरिद गर्न एक किलोमिटरसम्म मानिसहरु लाइनमा बसेको देखिएको छ  ।