लण्डनमा एक नेपाली विधार्थीलाई ठक्कर दिएर फरार भएका चर्चित बेलायती र्यापर घेट्स (वास्तविक नाम: जस्टिन क्लार्क-सामुएल) लाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ।
सन् २०२५ अक्टोबर १८ मा पूर्वी लण्डनको इल्फोर्डमा तीव्र गतिमा गुडिरहेको घेट्सको बीएमडब्लू (BMW) कारले २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङलाई ठक्कर दिएको थियो। ठक्कर लगत्तै घेट्स घटनास्थलबाट भागेका थिए। गम्भीर घाइते युबिनको उपचारका क्रममा दुई दिनपछि अस्पतालमा मृत्यु भएको थियो।
अदालतमा बयान दिँदै युबिनकी आमा सर्मिला तामाङले आँसु पुछ्दै भनिन्, “मेरो छोरा भविष्य बनाउन र पढ्नका लागि यो देश (बेलायत) आएको थियो, तर अरूको गल्तीका कारण सानै उमेरमा ज्यान गुमाउनु पर्यो।” युबिन आफ्नो आमाबुबाका एक्लो सन्तान थिए।
न्यायाधीशले घेट्सको ड्राइभिङलाई “अत्यन्तै लापरवाहीपूर्ण र भयानक” भन्दै उनलाई १२ वर्षको जेल सजायका साथै १७ वर्षसम्म गाडी चलाउन नपाउने गरी प्रतिबन्ध लगाएका छन्।
