महेश बस्नेत र सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा दिए उजुरी

विविध

सांसद डा. सुरेन्द्र यादव ‘अपरहण’ घटनाले गम्भीर रूप लिने देखिएको छ । सुरुमा जनता समाजवादी पार्टीले आफ्नो पार्टी फुटाउन सांसद यादवलाई अपहरण गरी महोत्तरीबाट काठमाडौं ल्याएको भन्दै प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालयलगायतमा जाहेरी दिन खोजेको थियो । तर, दुवै निकायले अस्वीकार गरेका थिए ।

समाजवादीले नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनाललाई कारबाही गर्न भन्दै उनीहरूविरुद्ध जाहेरी दिन खोजेका थिए । तर, जाहेरी दर्ता नभएपछि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए ।

सोमबार सांसद बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले आफूहरूको चरित्रहत्या गरेको भन्दै समाजवादी पार्टीका नेता डा।बाबुराम भट्टराई, उनका प्रेस सहयोगी विश्वदीप पाण्डेलगायत समाजवादी पार्टीका नेताहरूविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।

उजुरीमा आफूहरूले सांसद यादवको अपहरण नगरेको उल्लेख गरिएको बताइएको छ । समाजवादी पार्टीले आफ्नो दल विभाजन गर्न सरकारकै सहयोगमा सांसद यादवको अपहरण गरेको आरोप लगाउँदै आएको छ । सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले भने अस्वीकार गर्दै आएका छन् ।