इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधन: सरकारी टेलिभिजनद्वारा पुष्टि

अन्तराष्ट्रिय

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। राज्यनियन्त्रित प्रसारणमार्फत केही समयअघि खामेनी अब यस संसारमा नरहेको घोषणा गरिएको हो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको दाबी गरेका थिए।

शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेका थिए। उक्त आक्रमण खामेनीको निवास क्षेत्रसम्म पुगेको बताइएको छ। सोही घटनाक्रमसँगै उनको निधन भएको समाचार सार्वजनिक भएको हो।

सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति खामेनीकै हातमा रहेको थियो। उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समय शासन गर्ने नेता तथा मध्यपूर्व क्षेत्रमा सबैभन्दा लामो समयसम्म पदमा रहेका राष्ट्रप्रमुखमध्ये एक मानिन्छन्।

खामेनी, इरानका आध्यात्मिक तथा राजनीतिक नेता आयातोल्लाह खुमेनीका निकट सहयोगी थिए। सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। शाह शासनविरुद्ध आन्दोलनका क्रममा उनी छ पटक पक्राउ परेका थिए भने करिब तीन वर्ष निर्वासनमा समेत बिताएका थिए।