काठमाडौँ । रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू लागू गरिएको हो। मस्जिदमा प्रार्थना भइरहेको समयमा हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। घटनापछि शुक्रबार बिहानैदेखि गौर क्षेत्र तनावग्रस्त बन्दै गएको थियो।
प्रशासनको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर सहमतिविपरीत शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुङ्गा–मुढा सुरु भएपछि अवस्था असामान्य बनेको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवत–जावत गर्न, भेला हुन, सभा–जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
कर्फ्यूको दायरा पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्म तोकिएको छ। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जनाएका छन्।
अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको प्रशासनले जनाएको छ।
