ललितपुरमा पाँचौं मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

खेलकुद

ललितपुर । नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा पाँचौं संस्करणको ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८२ फागुन १ र २ गते ललितपुरको मंगलबजारमा सम्पन्न भएको छ। संघले २०७६ सालदेखि निरन्तर रूपमा उक्त मेयर कप प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ १५० र महिलातर्फ १५० जना गरी कुल ३०० खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता सञ्चालनका लागि निर्णायक, व्यवस्थापक, प्रशिक्षक तथा स्वयंसेवक गरी ५० जना जनशक्ति परिचालन गरिएको आयोजकले जनाएको छ।

कराते खेलको प्रवर्द्धन, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको संघका पदाधिकारीहरूले बताएका छन्।

यस वर्ष प्रदान गरिँदै आएको नियमित ‘रामजी गुरु स्मृति नगद पुरस्कार’ सबै तौल समूहका प्रथम विजेतामध्येबाट गोलाप्रथामार्फत छनोट गरिएको थियो। उक्त नगद पुरस्कार राशि रु ५०,००० (पचास हजार) ५५ केजी तौल समूहकी महिला प्रथम विजेता लक्ष्मी थिङ्गले जितेकी हुन्।

प्रतियोगिताका सबै तौल समूहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई ट्रफी, शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत आयोजना गरिएको थियो।