काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्कीलाई भेट्न ओली बिहीबार बिहान बालुवाटार पुगेका थिए।
भेटका क्रममा उनीहरूबीच आसन्न निर्वाचनको तयारीका विषयमा छलफल भएको बताइएको छ। यद्यपि, भेटको विस्तृत एजेन्डाबारे दुवै पक्षले औपचारिक रूपमा केही खुलाएका छैनन्।
हालै प्रधानमन्त्री कार्कीले नवलपुरमा आयोजित एक कार्यक्रममा तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउँदै, मौसमजन्य कारणले अवरोध भए पुनः निर्वाचन गराउन सकिने अभिव्यक्ति दिएकी थिइन्। उक्त भनाइपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।

यसैबीच, बुधबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकारलाई एकै चरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिएका थिए। त्यसको भोलिपल्ट ओलीले प्रधानमन्त्रीसँग भेट गर्दै सो विषयमा पनि चासो व्यक्त गरेको बुझिएको छ।
