इबोलाका लागि विकसित गरिएको औषधिले कोरोनाका बिरामी निको हुने दावी

विविध

एजेन्सी, १९ वैशाख । अमेरिकी अधिकारीहरुले हाल प्रचलनमा रहेको एक औषधिले कोरोना भाइरसका बिरामीलाई निको पार्न सहयोग पु¥याउने दावी गरेका छन् ।

Ebola का लागि विकसित गरिएको ‘रेम्डेसेभियर’ (Remdesivir) नामक औषधिको प्रयोगले कोरोनाका बिरामी निको हुन सहयोग पुग्ने स्पष्ट आधार भेटिएको अमेरिकी अनुसन्धानकर्ताहरुले दावी गरेको जनाइएको छ । ‘रेम्डेसेभियर’ औषधिको प्रयोगले Covid-19 कारण विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको बताइएको छ । यसबारे पूर्ण विवरण भने सार्वजनिक नगरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विज्ञहरूले दाबी पुष्टि भएमा यो निकै राम्रो हुने भए पनि कोरोनाको उपचारका लागि यो पर्याप्त भने नहुने बताएका छन् । रेम्डेसेभियर मानिसको जीवन बचाउन सघाउने, अस्पतालहरूमा चाप कम गर्ने तथा लकडाउन खुकुलो पार्ने वातावरण सिर्जना हुन सक्ने जनाइएको छ ।

रेम्डेसेभियर खासमा इबोलाको उपचारका लागि विकसित गरिएको एन्टिभाइरल औषधि हो । यसले मानव शरीरमा भाइरस बढ्न आवश्यक पर्ने एन्जाइमलाई आक्रमण गरी कार्य गर्दछ । अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेज एनआईएआईडीले गरेको अध्ययनमा १ हजार ६३ जनाले भाग लिएका थिए । तीमध्ये केहीलाई उक्त औषधि दिइएको थियो । केहीलाई भने रेम्डेसेभियर नदिईकनै उपचार गरिएको थियो । रेम्डेसेभियरको प्रयोगले कोरोनाका बिरामीको मृत्युदर ११ दशमलव ६ प्रतिशतबाट ८ मा झरेको दाबी गरिएको छ ।