काठमाडौँ — रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार राति १०: ५५ मा निधन भएको छ । उनकोअन्त्येष्टि बिहीबार राति नै गरिएको छ ।
अल्जाइमर्स र पार्किन्सन्सबाट पीडित रानुदेवीलाई बिहीबार नै अस्पताल लगिएको थियो । अस्पताल लगिएको केहीबेरमा उनको निधन भएको हो ।
रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहँदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् । २००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन् ।सशस्त्र क्रान्तिको दौरान विराटनगरको रघुपति जुट मिलबाट एउटा वायरलेस सेटलाई रेडियो ट्रान्समिटरमा बदलेर नेपाल प्रजातान्त्रिक रेडियो सुरु गरिएको थियो जसमा रानुदेवीको आवाजले ढाकिएको हुने गर्थ्यो । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायत गीत चर्चित छन् । तारिणीप्रसादकै शब्द/संगीतमा कलकत्तामा पनि उनको गीत रेकर्ड भएको थियो ।

