बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता

राजनीति

काठमाडौं । धर्मराज तिमिल्सिनाले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्। सामाजिक सञ्जालमार्फत गरिएको शाहको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको, घृणा फैलाउने, मानहानी गर्ने, अपुष्ट आरोप लगाउने तथा निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने प्रकृतिको भएको दाबी गर्दै उनले उजुरी दिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक नेताहरूबीच पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने सकारात्मक धारणा व्यक्त गरेको सन्दर्भमा शाहले घृणात्मक अभिव्यक्ति दिएको तिमिल्सिनाको आरोप छ।

उजुरीमा उल्लेख भएअनुसार, ओलीको सार्वजनिक आह्वान सम्बन्धी फेसबुक पोस्टमा प्रतिक्रिया जनाउँदै शाहले राखेका भनाइहरू उद्धृत गरिएको छ। ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता गम्भीर आपराधिक आरोपहरू कुनै प्रमाण वा अदालतको निर्णयबिना सार्वजनिक रूपमा लगाइनु स्वयंमा मानहानी, राजनीतिक प्रतिशोध र मतदाताको मानसिकता भ्रमित पार्ने कार्य भएको निवेदकको दाबी छ।

शाहको अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने तिमिल्सिनाको भनाइ छ।

नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोपमार्फत मतदातालाई प्रभावित पार्न निषेध गरेको व्यवस्था पनि उजुरीमा स्मरण गराइएको छ।

तिमिल्सिनाले शाहको उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी निर्वाचन आचारसंहिता र कानूनविपरीत ठहर भए आवश्यक कारबाही गर्न आयोगसँग माग गरेका छन्। आयोगले निवेदन दर्ता गरिसकेको छ। दर्ता नम्बर २०३४ रहेको जनाइएको छ।