काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन्।
राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् ।
उनले क्षेत्रीय कमिटीले युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दा पनि ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका कमल थापालाई टिकट दिनुले पार्टीभित्र स्वेच्छाचारिता र अदृश्य सेटिङ देखिएको उनले आरोप लगाए।

कार्कीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ५ को टिकट वितरणमा जुन प्रकारको स्वेच्छाचारिता देखाइयो, त्यसले पार्टीको विधि र युवा नेतृत्वको मर्ममाथि ठूलो प्रहार गरेको छ। क्षेत्रीय कमिटीले म हिक्मतजंग कार्कीसहित नविन खड्का, हेमजंग गुरुङ लगायतका युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दागर्दै सबैलाई पाखा लगाएर ९ पटक मन्त्री भइसकेका र भर्खरै पार्टीमा निसर्त आएको दाबी गर्ने कमल थापालाई टिकट दिनुले अध्यक्षको नियत प्रष्ट पारेको छ।’
उनले राप्रपा हिन्दुराष्ट्र र राजतन्त्रको पुनस्र्थापनाको मूल एजेण्डा बोकेको ऐतिहासिक पार्टी भए पनि पछिल्लो समय नेतृत्वको अदूरदर्शिताका कारण पार्टी कमजोर बन्दै गएको उल्लेख गरेका छन्। गत महाधिवेशनमा युवा पुस्ताको अपेक्षासहित लिङ्देनलाई नेतृत्व सुम्पिए पनि ती अपेक्षा पूरा नभएको उनको भनाइ छ।
उनले संसदीय राजनीतिमा असफल भइसकेका नेतालाई अघि सार्नुले पार्टीको भविष्यमा नकारात्मक असर पर्ने दाबी समेत गरेका छन्।
