काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा बैंक सोमबार (आज) सम्पन्न भएको छ ।
सभामा २०८२ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् ।
सभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको छ । यस अन्तर्गत आव २०८१/०८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकको नियमावली बमोजिम संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गर्ने साधारण सभामा प्रस्ताव भए बमोजिम संस्थापक सेयरधनी समुह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, सञ्जय गिरि र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह (ख) बाट ३ जना क्रमशः श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षको रूपमा चयन गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्धतासमेत व्यक्त गरे ।
