एनआइसी एसिया बैंकले २ः१ अनुपातमा हकप्रद शेयर ल्याउने

बैंक/वित्त

काठमाडौं । एनआइसी एसिया बैंकले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। बैंकको पुस २० गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृतिका लागि पेश भइसकेको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर बिक्री गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । यस अनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

बैंकमा संस्थापकहरुको ५१ प्रतिशत तथा सर्वसाधरणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ ।

एनआईसी एशिया बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा सो अवधिसम्म ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर ३ रुपैयाँ २८ पैसा रहेकोे छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.७३ गुणा रहेको छ।

बैंकको जगेडा कोषमा १४ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।