रिलायन्स स्पिनिङको आईपीओले रच्यो इतिहास, ३३ गुणा ओभरसब्सक्राइब

Headlines कर्पोरेट

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आम–सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ ।

कूल ९ लाख २४ हजार ७६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ जम्मा भएको छ । नेपालको पूँजी बजारमा यो आवेदन संख्या र संकलित रकम संभवतः हालसम्मकै बढी हो ।

कम्पनीले पुस ७ गते निष्काशित आईपीओको सबैभन्दा ठूलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन खुला गरेको थियो । पुस ११ सम्म पूर्ण आवेदन नपरेमा पुस २१ सम्म अवधि लम्बिने भए पनि मागभन्दा अत्यधिक धेरै आवेदन परेपछि आवेदन अवधि लम्ब्याइएन । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रवन्धकत्वमा खुलेको आईपीओमा पहिलो दिनको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि लगानीकर्ताको आकर्षणमा कुनै कमी आएन । अन्ततः यसले नेपाली पूँजी बजारमा नयाँ इतिहास रच्यो ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । बुक विल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम–सर्वसाधारणका लागि खुलेको हो ।

वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ यसअघि नै करिब १७ गुणा बढी आवेदन परेकोमा शेयर बाँडफाँट भइसकेको छ । यसले तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्सको शेयरधनी हुन लगानीकर्ताहरु निकै लालायित र उत्साही रहेको देखाएको छ ।