काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानविन गरिरहेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कार्यकाल एक महिना थप्न सरकारसँग आग्रह गरेको छ । टीओआरमा तोकिएका काम समयमै सम्पन्न नहुने देखिएपछि म्याद थपको प्रस्ताव गरिएको हो ।
बुधबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी म्याद थपबारे औपचारिक आग्रह गरेका हुन् । गत असोज ५ गते गठन भएको आयोगलाई तीन महिनाको म्याद दिइएको थियो । तर, म्याद सकिनै लाग्दा पनि बयान संकलनलगायतका महत्वपूर्ण काम अझै पूरा भइसकेका छैनन् ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने तयारी गरेको छ । स्रोतका अनुसार उनीहरूबाट आगामी साता बयान लिने योजना छ । आयोगका अध्यक्ष कार्कीले छानविनका बाँकी काम पूरा गर्न थप समय आवश्यक भएकाले एक महिना म्याद थपको माग गरिएको जानकारी दिए ।


