नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा लुम्बिनी लायन्सले उपाधि दाबेदार मानिएको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले सहजै पराजित गर्दै ट्रफी उचाल्यो। यो सिजन नतिजा भन्दा पनि नेपाली क्रिकेटले मारेको फड्कोका कारण यादगार रह्यो।
दशकौंदेखि नेपाली समर्थकले देखेको ’फ्लडलाइट’ मा रात्रिकालीन म्याच हेर्ने सपना यसपालि त्रिवि मैदानमा पूरा भयो। चिसो मौसमको समेत पर्वाह नगरी प्यारापिटमा बसेर हजारौं दर्शकले गरेको समर्थन र बत्तीको झिलिमिलीले अन्तर्राष्ट्रिय स्तरको खेल अनुभव प्रदान गर्यो। फाफ डु प्लेसिस, जेसन रोय, र डेभिड मलान जस्ता विश्व क्रिकेटका हस्तीहरूको आगमनले नेपालको घरेलु लिगको गरिमालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ठूलो मद्दत पुर्यायो।
आर्थिक सबलीकरण र कर्पोरेट आकर्षण
एनपिएलको सबैभन्दा बलियो पक्ष यसको आर्थिक पाटो रह्यो। कर्पोरेट क्षेत्रको बाक्लो उपस्थिति र ठूलो लगानीले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीका ’एलिट’ खेलाडीहरू संगै क्रिकेटमा भविष्य खोजेका केहि उदाउँदा खेलाडीको आर्थिक जीवनस्तर उकास्न ठूलो भूमिका खेल्यो। फ्रेन्चाइजहरूले गरेको लगानी र प्रचारप्रसारले क्रिकेटलाई नेपालमा एक आकर्षक उद्योगको रूपमा स्थापित गरेको छ।

’एसोसिएटको आईपीएल’ को यथार्थ र खेलाडीको लय
एनपिएललाई धेरैले ’एसोसिएट राष्ट्रहरूको आईपीएल’ को संज्ञा दिन्छन्। आईपीएलले जसरी भारतीय क्रिकेटलाई हरेक वर्ष नयाँ स्टार दिन्छ, एनपिएलबाट पनि त्यस्तै अपेक्षा गरिएको थियो। तर, विश्लेषणात्मक रूपमा हेर्दा एनपिएल सिजन २ ले नयाँ ’म्याच विनर’ उत्पादनमा सोचेजस्तो सफलता हासिल गर्न सकेन। शेर मल्ल र दिनेश अधिकारि, तिलक भण्डारी जस्ता केही एकाद खेलाडी बाहेक, अन्य युवा खेलाडीहरू छायाँमै परे र आशा अनुरुप प्रदर्शन गर्न सकेनन् ।
झन् चिन्ताको विषय त राष्ट्रिय टोलीका स्थापित र ठूलो सम्भावना बोकेका युवा खेलाडीहरूको खराब लय रह्यो। अनिल साह, आदिल आलम, सुन्दिप जोरा, गुलशन झा, आसिफ शेख, कुशल मल्ल, लोकेश बम र देव खनाल जस्ता खेलाडीहरू, जसबाट फ्यान र टिमले ठूलो अपेक्षा गरेका थिए, उनीहरूले यो सिजन बिर्सनलायक प्रदर्शन गरे। ब्याटिङमा देखिएको यो संघर्षले उनीहरूको आत्मविश्वासमा पक्कै असर गरेको हुनुपर्छ।
त्रिवि मैदानका ४–५ वटा पिचमा लगातार एक महिना खेल हुँदा पिचहरू ब्याटरका लागि अत्यन्तै कठिन र सुक्खा बने। ८० प्रतिशत भन्दा बढी खेलमा रन बनेनन् र प्राय लो स्कोरिङ्ग नै रहे। यस्तो पिचमा भएको प्रदर्शनले खेलाडीको वास्तविक क्षमता र ’फर्म’ को सही मूल्यांकन गर्न गाह्रो हुन्छ। खराब पिचका कारण रन नबनेका खेलाडीलाई आउन लागेको टि ट्वेण्टि विश्वकपको टोलीबाट हटाउने कि उनीहरूको पुरानो क्षमतामा विश्वास गर्ने? यो प्रश्न अब पेचिलो बनेको छ।
फ्यानहरूको अनुभव र व्यवस्थापन
फ्लडलाइट र स्टार खेलाडीको उपस्थितिले फ्यानहरू उत्साहित भए पनि टिकट व्यवस्थापनमा देखिएको कमजोरीले केही खल्लोपन ल्यायो। टिकेटिङ पार्टनर ’खल्ती’ र क्यानद्वारा प्लेअफमा गरिएको मूल्यवृद्धि र टिकटको कालोबजारीले आम समर्थकलाई निराश बनायो। साथै, प्यारापिटमा बसेर छक्का–चौकाको वर्षा हेर्न चाहने दर्शकहरूको इच्छा बलिङ्ग फ्रेन्डली पिचका कारण सम्भव हुन सकेन ।
अबको बाटोः क्यानले कहाँ लगानी गर्ने?
एनपिएलले क्यानलाई आर्थिक रूपमा बलियो बनाएको छ। अब यो आर्थिक शक्तिलाई ’क्रिकेटिङ शक्ति’ मा बदल्न क्यानले निम्न क्षेत्रमा तत्काल लगानी र योजना बनाउन आवश्यक छः
१. घरेलु संरचनाको विस्तारः
अहिलेको प्रधानमन्त्री कपले मात्र पर्याप्त म्याच एक्सपोजर दिँदैन। क्यानले तल्लो तहदेखि नै बलियो घरेलु संरचना बनाउनुपर्छ। दुई दिवसीय वा तीन दिवसीय क्रिकेट प्रतियोगिताहरू आयोजना गर्नुपर्छ, जसले खेलाडीमा धैर्यता र प्राविधिक कौशल विकास गराउँछ।
२. पूर्वाधार, मैदान र पिचको विकल्पः
एउटै मैदानमा सम्पूर्ण प्रतियोगिता गर्दा पिचको गुणस्तर खस्किन्छ र ब्याटरहरू मारमा पर्छन्। क्यानले मूलपानी, रुपन्देहीको तिलोत्तमा वा अन्य रंगशालालाई प्रयोग योग्य बनाएर एनपिएललाई कम्तिमा दुई–तिन वटा स्थानमा खेलाउने वातावरण बनाउनुपर्छ। यसले पिचलाई ताजा राख्न मद्दत गर्छ।
३. एकेडेमी र तल्लो तहमा लगानीः
फ्रेन्चाइजहरूलाई उनीहरूको सम्बन्धित क्षेत्रमा क्रिकेट एकेडेमी खोल्न र विद्यालय स्तरको क्रिकेटमा लगानी गर्न प्रोत्साहित गर्नुपर्छ।
समग्रमा, एनपिएल सिजन २ आर्थिक र मार्केटिङको दृष्टिकोणले ऐतिहासिक रह्यो। प्यारापिटको माहोल र फ्लडलाइटले नयाँ युगको संकेत गरेको छ। तर, क्रिकेटको मुख्य मर्म– गुणस्तरीय प्रतिस्पर्धा र खेलाडीको विकास– मा भने अझै धेरै काम गर्न बाँकी छ। अबको चुनौती भनेको यो आर्थिक सफलतालाई पूर्वाधार विकास र बलियो घरेलु संरचनामा रूपान्तरण गर्नु हो ।
– अभिषेक लुइँटेल
