काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनामा पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पुस १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर समायोजन गरेका हुन् ।
पुसका लागि १४ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर यथावत् राखेका छन् । यस अवधिमा संस्थागततर्फको मुद्दती निक्षेप ब्याजदर औसत ०.२१ प्रतिशतले घटेर ३.३७ प्रतिशतमा झरेको छ । यसअघि असोज महिनामा संस्थागततर्फ औसत ब्याजदर ३.५८ प्रतिशत रहेको थियो ।
पुस महिनामा सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक हिमालयन बैंक बनेको छ । हिमालयन बैंकले व्यक्तिगततर्फको मुद्दती निक्षेप ब्याजदर १.५० प्रतिशतले घटाएर ४ प्रतिशत र संस्थागततर्फ १.४५ प्रतिशतले घटाएर २.८० प्रतिशत कायम गरेको छ । यसअघि मंसिर महिनामा बैंकले व्यक्तिगततर्फ ५.५० प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् ।
यस्तै, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंकले भने पुसमा मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।
