प्रभु बैंक प्रकरण: सीआईबीले बैंकर्स संघको रोहबर अस्वीकार गर्‍यो, सीईओ शेरचनमाथि सीआईबीको कडा कानुनी अडान

बैंक/वित्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल बैंकर्स संघको रोहबरमा हाजिर जमानीमा छोड्न अस्वीकार गरेको छ। बैंकर्स संघले शेरचन सीईओ पदबाट निलम्बित भइसकेकाले विगतका घटनाझैँ संघकै रोहबरमा रहने व्यवस्था गर्न अनुरोध गरेको थियो।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीच चुलिएको लेनदेन विवादसँगै प्रभु बैंकका सीईओ शेरचन पनि अनुसन्धानको दायरामा तानिएका हुन्।

भट्टचन र लामा लगायतको लगानी रहेको प्रभु म्यानेजमेन्टले प्रभु मनी ट्रान्सफर तथा प्रभु बैंकको रेमिट्यान्स सुपर एजेन्टका रूपमा काम गरेको, साथै रेमिट्यान्स कारोबारका लागि सहकारीबाट लिएको धरौटी रकम अपचलन गरिएको आरोपमा सीआईबीले अनुसन्धान अघि बढाएको छ।

यसअघि बैंकरहरू पक्राउ पर्दा नेपाल बैंकर्स संघको रोहबरमा छाड्ने अभ्यास रहँदै आएको थियो। तर बैंकर्स संघ स्रोतका अनुसार यस पटक प्रभु बैंकसम्बन्धी प्रकरणमा सीआईबीले अत्यन्तै गम्भीर रूपमा अनुसन्धान अघि बढाएको छ। प्रकरणबारे नेपाल राष्ट्र बैंकसमेत पूर्ण रूपमा जानकारीमा नरहेको अवस्था रहेकाले बैंकर्स संघ र राष्ट्र बैंक दुवै ‘वेट एन्ड वाच’को अवस्थामा रहेका छन्।