Nepal Insurance Authority Under Pressure: दायित्व २५ गुणाले बढ्यो

बैंक/वित्त

काठमाडौं । नेपाल बीमा प्राधिकरण दबाबमा परेको छ। प्राधिकरणको भुक्तान गर्नुपर्ने दायित्व एकै वर्षमा करिब २५ गुणाले बढेको तथ्य सार्वजनिक भएपछि यसको वित्तीय व्यवस्थापन र दायित्व संरचनामाथि गम्भीर प्रश्न उठेको छ।

प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा दायित्व १० करोड ८८ लाख रुपैयाँबाट बढेर २ अर्ब ७० करोड ८५ लाख रुपैयाँ पुगेको हो, जसले नियामक संस्थाको वित्तीय दबाब तीव्र रूपमा बढ्दै गएको संकेत गर्छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्राधिकरणको कुल दायित्व १० करोड ८८ लाख रुपैयाँ मात्र थियो । तर, गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो दायित्व बढेर २ अर्ब ७० करोड ८५ लाख रुपैयाँ पुगेको हो ।

प्राधिकरणको सम्पत्ति भने सामान्य रुपमा वृद्धि भएको छ । अघिल्लो आवमा १० अर्ब ५ करोड ८४ लाख रुपैयाँ रहेको कुल सम्पत्ति गत आवको अन्त्यतिर १३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ पुगेको हो । जहाँ अमूर्त सम्पत्ति १ अर्ब ६ करोड ७२ लाख रुपैयाँको रहेको छ भने १ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको उपकरण रहेको छ । अघिल्लो वर्ष १ अर्ब ३२ करोड २१ लाख रुपैयाँको उपकरण थियो ।

यसैगरी, गत वर्षको अन्त्यसम्म निर्माणाधीन सम्पत्ति ६ करोड ५८ लाख रुपैयाँको रहेको छ भने स्थगन कर सम्पत्ति १ करोड १५ लाख, ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको लगानी, २६ करोड १४ लाख रुपैयाँको ऋण तथा सापटीहरु, ८ लाख रुपैयाँ बराबर स्टक, ६९ करोड ५८ लाख रुपैयाँ बराबर अन्य सम्पत्ति, २ अर्ब ५६ करोड २६ लाख रुपैयाँ बराबरको अन्य वित्तीय सम्पत्ति र १ अर्ब ७९ करोड २ लाख रुपैयाँ बराबरको नगद तथा नगद समान रहेको विवरणमा उल्लेख छ ।

दायित्व तर्फ व्यवस्थाहरू अन्तर्गत २ अर्ब ६७ करोड ८२ लाख, चालु कर दायित्व १ करोड २ लाख, अन्य वित्तीय दायित्व १ करोड ७८ लाख र अन्य दायित्व २२ लाख रुपैयाँ रहेको जनाइएको छ । अघिल्लो वर्ष व्यवस्थाहरू अन्तर्गत ४ करोड ११ लाख रुपैयाँ मात्रै थियो । यसैगरी, चालु कर दायित्व ३ करोड ८४ लाख अन्य वित्तीय दायित्व १ करोड ११ लाख र अन्य दायित्व १ करोड ८० लाख रुपैयाँ थियो ।