काठमाडौं । सरकार र जेन–जी प्रतिनिधिबीच हिजो (बुधबार) भएको १० बुँदे सम्झौता आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ।
बैठकपछि सरकारका प्रवक्ता जगदीश खरेलले सम्झौता छिट्टै राजपत्रमा प्रकाशन हुने बताउँदै सम्बन्धित मन्त्रालयहरूलाई सोही अनुसार कार्यान्वयन प्रक्रियामा अघि बढ्न निर्देशन दिइएको जानकारी दिए।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलाई जनआन्दोलनको संज्ञा दिँदै गरिएको उक्त १० बुँदे सम्झौतामा आन्दोलनमा सहभागी भएकामाथि फौजदारी मुद्दा नचलाउने, संशोधन सुझाव आयोग गठन गर्ने तथा जेन–जी परिषद् गठन गर्ने जस्ता प्रावधानहरू समावेश छन्।

यसैबीच, मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेकी छन्। स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच अहिले समसामयिक राजनीतिक परिस्थिति र सरकारका ताजा निर्णयहरूबारे छलफल भइरहेको छ।

