भारतीय रिजर्भ बैंक (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ (FEMA Regulation) संशोधन गरी नेपाल–भारत दुवै देशमा ठूला दरका भारतीय नोट ल्याउन/लैजान पाउने व्यवस्था गरेको छ। नयाँ प्रावधान अनुसार १०० रुपैयाँसम्मका नोटमा कुनै सीमा रहने छैन, अर्थात् जति पनि नोट दुवै देशबीच लैजान सकिनेछ।
तर १०० रुपैयाँभन्दा माथिका सबै नोट (₹200, ₹500, ₹2,000 आदि) को हकमा भने २५ हजार भारतीय रुपैयाँसम्म मात्र एकपटकमा लैजान/ल्याउन अनुमति दिइएको छ। यो सुविधा नेपाल र भुटानका नागरिकहरूका लागि मात्र लागू हुने गरी नियमावलीमा उल्लेख छ।
भारतले सन् २०१६ मा ₹500 र ₹1000 का नोटबन्दी गरेपछि नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट ल्याउन–लैजान बन्देज गरिएको थियो। नेपालले पनि ती दरका नोट चलनचल्तीमा रोक लगाएको थियो।

अब भारतले १०० भन्दा माथिका नोट २५ हजारसम्म नेपाल–भारत आवतजावत गर्न दिने व्यवस्था गरे पनि नेपालले यसबारे कुनै नयाँ निर्णय गरेको छैन।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, भारतले स्वतन्त्रता पाएपछि तीनपटक नोटबन्दी गरिसकेको छ, जसका कारण नोट सटही सुविधा पाएका छिमेकी देशका नागरिकहरू धेरैपटक वित्तीय नोक्सानी बेहोर्नुपरेको थियो।
यो पटकको व्यवस्था, प्रवक्ताको भनाइअनुसार, सुविधाजनक र व्यवहारिक छ।
