वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई आइतवार डिस्चार्ज गरिने भएको छ ।
उपचाररत चार मध्ये ३ भारतीय र १ नेपाली रहेका छन् । वीरगञ्जस्थित छपकैयाको मक्की जामे मस्जिदमा बसेका उनीहरुको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
उनीहरु चारै जनाको तेस्रो रिपोर्ट नेगेटिभ आएसँगै चौथो पटक पीसीआर परीक्षणका लागि उनीहरुको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । उनीहरु चारै जनाको शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको हो ।

डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा र रिपोर्ट नेगेटिभ आएको कारण उनीहरुलाई आइतवार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । साथै उनीहरुको अवस्था सामान्य रहेको छ । हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आइतवार उनीहरु घर फर्किएसँगै नेपालमा कोरोना निको हुनेको संख्या १६ पुग्नेछ ।
