हटाइयो वन अतिक्रमण गरेर बनाएका संरचना

विविध

कपिलवस्तु, वैशाख १३ :  डिभिजन वन कार्यालय गौतमवुद्ध कपिलवस्तुले शिवराज नगरपालिका ५ चन्द्रौटा रहटकोल क्षेत्रमा बन अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएको छ ।

सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार डिभिजन वन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीको नेतृत्वको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना शुक्रवार भत्काएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, बनका सुरक्षाकर्मीले उक्त क्षेत्रमा निर्माण भएका तीन वटा फुसका टहरमा आगो लगाइएको हो भने तीनवटा पक्की घरहरु भत्काएको छ ।

शिवराज नगरपालिकाको भवन निर्माण स्थल नजिकै भुमाफियाहरुले कव्जा गरेर महंगोमा बेच्ने उदेश्यले संरचना बनाउने क्रम बढ्दै गएपछि बन कार्यलयले बल प्रयोग गरेको वताइएको छ ।

पटक पटक जानकारी गराउँदा पनि अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाइएको हो ।

अतिक्रमणमा संलग्न स्थानियहरुले सुरक्षाकर्मी माथि ढुगांमुडा प्रहार गरेका थिए । सुरक्षाकर्मी र स्थानियहरु विच झडप भएपछी वनका तीन जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । यसअघि गत हप्ता विजयनगर र शिवराजका अन्य क्षेत्रमा ५ वटा घर टहरा भत्काइएका थिए ।