प्रधानमन्त्री–जेनजी छलफल: ‘सोमबारभित्र सम्झौता अन्तिम रूप दिनुपर्छ : प्रधानमन्त्री’

राजनीति

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अग्रणी प्रतिनिधिहरूसँग छलफल गरेकी छन् ।

सरकार र आन्दोलनकारीबीच तय हुन लागिरहेको सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने विषयमा केन्द्रित भएर भेटवार्ता भएको जनाइएको छ।

सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गरेका थिए ।
सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए ।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिईन् । ‘अब यो विषय धेरै लम्ब्याउनु हुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुहोस् । सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ । अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला । मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन,’– प्रधानमन्त्री कार्कीको भनाइ उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले भने ।