४३ करोड थान नयाँ एक हजारका नोट छपाइको ठेक्का चीनीयाँ कम्पनीलाई

बैंक/वित्त

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड थान नयाँ नोट छपाइको काम चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन लाई दिने निर्णय गरेको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटका लागि आवश्यक कागज, डिजाइन, छपाइ र आपूर्तिका लागि झिकिएको अन्तर्राष्ट्रिय टेन्डरको मूल्यांकनपछि उक्त कम्पनीलाई ठेक्का स्वीकृत गरिएको हो।

नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाइ  छनौट गरेको हो। २०८२ साल मंसिर ११ गते बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले यो निर्णय पारित गरेको जनाएको छ ।

ठेक्काको कुल लागत १६.९८५ मिलियन अमेरिकी डलर (करिब १७ मिलियन डलर) अर्थात करिब २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस ठेक्कामा नोटको डिजाइन, प्रिन्टिङ, आपूर्ति र डेलिभरीको पूर्णसेवा समावेश छ। उक्त कम्पनीले विगत केही वर्षदेखि नेपालमा नोट छाप्ने ठेक्काहरू लगातार पाउँदै आएको छ । यस कदमले नेपालमा नयाँ नोटको आपूर्ति सुनिश्चित गर्ने र मुद्रा परिसंचरणमा सहजता ल्याउने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ ।

प्रक्रिया अनुसार छपाइ सम्पन्न भएपछि नयाँ नोट बजारमा ल्याइने राष्ट्र बैंकले जनाएको छ।