संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै “तेस्रो विश्वका देशहरू” बाट अमेरिकामा हुने आप्रवासन (Migration) लाई स्थायी रूपमा रोक्ने घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा एक पोस्ट गर्दै यो निर्णयले आप्रवासी नीतिहरूको कारणले अमेरिकीहरूको ‘लाभ र जीवनस्तर’ मा आएको ह्रासबाट “अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनःस्थापित गर्न” मद्दत पुग्ने बताएका छन्। यद्यपि, उनले आफ्नो योजनाको विस्तृत विवरण वा कुन-कुन देशहरू प्रभावित हुनेछन् भन्नेबारे खुलाएका छैनन्।
राष्ट्रपति ट्रम्पले शरणार्थीहरूलाई अमेरिकामा “सामाजिक असमञ्जस (Social Dysfunction)” निम्त्याएको दोष लगाएका छन् र अमेरिकाका लागि “शुद्ध सम्पत्ति नबनेका” जो कोहीलाई पनि देशबाट हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पको यो टिप्पणी वासिङ्टन डीसीमा एक अफगान नागरिकले नेसनल गार्डका दुई सदस्यलाई गोली हानेको आरोप लागेको घटनाको एक दिनपछि आएको हो, जसमध्ये एक जनाको बिहीबार मृत्यु भएको थियो।
यसअघि, ट्रम्पले उक्त गोलीकाण्डले प्रमुख राष्ट्रिय सुरक्षा खतरालाई उजागर गरेको भन्दै “जो कोही विदेशी जो यहाँको होइन, उसलाई हटाउन” कदम चाल्ने वाचा गरेका थिए।
बुधबार, अमेरिकाले “सुरक्षा र जाँच प्रोटोकलहरूको समीक्षा” भन्दै अफगानी नागरिकहरूको सबै आप्रवासन अनुरोधहरूको प्रक्रिया स्थगित गरेको थियो।
बिहीबार राति स्थानीय समयमा गरिएको पछिल्लो पोस्टमा ट्रम्पले “गैर-नागरिकहरूलाई दिइने सबै संघीय लाभ र अनुदानहरू समाप्त गर्ने” प्रतिबद्धता पनि जनाएका छन्।
बिहीबार बिहान, यूएस नागरिकता र आप्रवासन सेवा (USCIS) ले १९ देशबाट अमेरिका आएका व्यक्तिहरूलाई जारी गरिएको ग्रीन कार्डहरू पुन: परीक्षण गर्ने बताएको थियो।
कुन-कुन देशहरू सूचीमा छन् भनेर सोध्दा, एजेन्सीले ह्वाइट हाउसको जूनको घोषणालाई औंल्याएको थियो, जसमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया र भेनेजुएला समावेश छन्। थप विवरण भने दिइएको छैन।
वासिङ्टन डीसी गोलीकाण्डका सन्दिग्ध व्यक्ति अमेरिकाले अफगानिस्तानबाट फिर्ता भएपछि अफगानीहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२१ मा अमेरिका आएको रिपोर्टपछि यी दुवै घोषणा भएका हुन्। अधिकारीहरूले बताएअनुसार, ती सन्दिग्ध, रहमानुल्लाह लकनवाले पहिले अफगानिस्तानमा सीआईए सँगसँगै काम गरेका थिए र अमेरिकी फिर्तीको क्रममा काबुल एयरपोर्टमा अमेरिकी सेनालाई सुरक्षा दिन सहयोग गरेका थिए।
