काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना शेयरधनीको ९९ प्रतिशत शेयर कटौती हुने भएको छ। बैंकले सूचना जारी गर्दै उनीहरूको शेयर केवल एक–एक प्रतिशत मात्र कायम राख्ने निर्णय भएको जनाएको छ।
समस्याग्रस्त अवस्थामा पुगेको बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले लिएर सम्पत्ति–दायित्व मूल्याङ्कन गरेको थियो। मूल्याङ्कनका क्रममा बैंकका सम्पत्तिले दायित्व चुक्ता गर्न नपुग्ने देखिएपछि २५ जना संस्थापक र १० जना साधारण गरी ३५ जनाकै ९९ प्रतिशत शेयर घटाउने निर्णय गरिएको हो।
राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि समूह गठन गरेको थियो। सो समूहले केही शेयरधनीले अवैधानिक रूपमा शेयर कायम गरेको ठहर गर्दै पुँजी पुनर्संरचनाको भागस्वरूप शेयर कटौती गर्ने निर्णय गरेको हो।

समूहका अनुसार संस्थाको चुक्ता पुँजी पूर्ण रूपमा क्षय भएको, दायित्व पूरा गर्न सम्पत्ति अपुग रहेको र केही शेयरधनीबाट चुक्ता भएर आएको रकम अवैधानिक मानिएको छ। त्यसैले पुनर्संरचना प्रक्रियाअन्तर्गत ती ३५ जनाको शेयर घटाएर एक प्रतिशतमा सीमित गरिएको हो।
