दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

अपराध तथा सुरक्षा

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले दज्र्यानी चिन्ह (फुली) लगाएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आइजीपी कार्कीलाई दज्र्यानी चिन्ह (फुली) लगाइदिएका हुन् ।

उक्त समारोहमा बोल्दै आइजीपी कार्कीले आफूलाई महानिरीक्षकमा नियुक्त गरेकामा नेपाल सरकार, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, मुख्यसचिव, गृहसचिव तथा गृहमन्त्रालयमा सकल दर्जाका कर्मचारीसहित गृहमन्त्रालयप्रति हार्दिक कृतज्ञता प्रकट गरे ।

उनले नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता गरे ।

‘संगठनमा सुढृण नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवम् प्रहरी कर्मचारीहरुको मनोवल बढाउन नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरुप निर्वाह गर्ने कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।

आइजीपी कार्कीले जेनजी आन्दोलन लगतै प्रतिकुल परिस्थितीमा पनि नेपाल प्रहरीले कुनै सुरक्षा रिक्तता रहन नदिई प्रहरी संरचनाहरु र सेवाहरुको पुनःस्थापित गर्ने सन्दर्भमा नेपाल प्रहरीले कर्तव्यप्रतिको प्रतिवद्धता र सहनशीलतालाई पुष्टि गरेको बताए ।

‘जेनजी आन्दोलन लगतैको प्रतिकुल परिस्थितीमा पनि कुनै सुरक्षा रिक्तता रहन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको अवस्था र छोटो समयमा प्रहरी संरचनाहरु र सेवाहरुको पुनस्थापित गर्ने सन्दर्भमा भएको उत्साजनक प्रवृतिले नेपाल प्रहरीको सकल दर्जाको उत्कृष्ट सेवा भाव, कर्तव्यप्रतिको प्रतिवद्धता र सहनशीलताले फेरी एक पटक पुन पुष्टि गरेकोे छ । यो साहस र सकरात्मकता नेपाल प्रहरीको शक्ति पनि हो,’ उनले भने ।

कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गत   सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् ।