नेपाल बैंक र दराजबीच साझेदारी — अनलाइन खरिदमा अधिकतम २० प्रतिशतसम्म छुट

बैंक/वित्त

काठमाडौं । नेपाल बैंक लिमिटेड र दराजबीच अनलाइन खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ। नेपालको पहिलो बैंक नेपाल बैंक र ई–कमर्स प्लेटफर्म दराजबीच २०८२ साल कार्तिक २३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार, नेपाल बैंकका ग्राहकहरुले २०८२ साल कार्तिक २५ गते (नोभेम्बर ११, २०२५) देखि २०८२ साल मंसिर ६ गते (नोभेम्बर २२, २०२५) सम्म दराज मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतामा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार, डेबिट कार्ड प्रयोग गरी अग्रिम भुक्तानी गर्दा ग्राहकले अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्म छुट पाउनेछन्। क्रेडिट कार्ड प्रयोग गरी अग्रिम भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु २,००० सम्म छुट उपलब्ध हुनेछ।

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल सेवामा थप संलग्न गराउन निरन्तर नयाँ पहलहरू गर्दै आएको र ई–कमर्स प्लेटफर्महरूसँगको सहकार्यलाई निरन्तरता दिएको जनाएको छ। साथै, बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा ई–कमर्स सुविधा सक्रिय गर्न र क्रेडिट कार्डका लागि आवेदन दिन आग्रह गरेको छ।