जेनजी आन्दोलन २०८२ समन्वय संघर्ष समितिले सार्वजनिक गर्यो ‘राष्ट्रिय निकास प्रस्ताव’

Headlines राजनीति

जेनजीको आह्वानमा भएको जन आन्दोलन २०८२ समन्वय संघर्ष समितिले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवापलायनकाबीच आज एक निर्णायक दस्तावेज ‘नेपालको वर्तमान संकटको निकास र भावी कार्यदिशा’ शीर्षकको प्रस्ताव सार्वजनिक गरेको छ ।

आन्दोलनले राष्ट्र नयाँ युगको प्रवेशद्वारमा रहेको भन्दै सर्वपक्षीय छलफल र ठोस सुधारका पाँच आधारस्तम्भ प्रस्तुत गरेको छ ।

जेनजी राष्ट्रिय संयोजन समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक दलहरूको स्वार्थ केन्द्रित प्रवृत्ति, भ्रष्टाचार र दण्डहीनताले जनताको विश्वास संकटमा पारेको छ । अब राष्ट्रको पुनर्जागरण अपरिहार्य छ ।’

प्रस्तावमा नेपालको वर्तमान अवस्थालाई ‘दीर्घकालीन अस्थिरता र वैचारिक दिशाहीनताको परिणाम’ का रूपमा चित्रण गर्दै पारदर्शी, जवाफदेही र स्थायी शासन प्रणाली निर्माणको माग गरिएको छ ।

जेनजी संयोजक समितिका अनुसार, ‘देश अहिले राजनीतिक अस्थिरता, आर्थिक असमानता र वैचारिक दिशाहीनताको गहिरो संकट’ मा फसेको छ ।

विगतका आन्दोलनका उपलब्धिहरू संस्थागत हुन नसक्दा जनतामा राज्यप्रतिको विश्वास कमजोर भएको भन्दै प्रस्तावले तत्काल व्यावहारिक र दूरगामी समाधान खोज्न सबै शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेको छ ।

प्रस्तावमा भनिएको छ, ‘राजनीतिक दलहरू सत्तास्वार्थमा अड्किँदा युवापुस्तामा देशप्रतिको विश्वास हराउँदै गएको छ । अब राष्ट्रिय पुनर्जागरण, विचारगत स्पष्टता र प्रणालीगत शुद्धीकरण नै राष्ट्रिय अनिवार्यता बनेको छ ।’