बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल कछुवा तालमै

पूर्वाधार तथा विकास निर्माण

बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको छ । मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको हो ।

निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेको छ ।

सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अवस्थामा छ ।

मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत  सदरमुकाम मार्तडी जोड्ने आरसिसि व्रिज निर्माण सम्झौता भएको पाँच बर्षसम्म पाँच प्रतिशत समेत काम हुन सकेको छैन ।

ठेकेदारको चरम लापरवाहीका कारण निमार्णधिन पुल अलपत्र अवस्थामा परेको हो । निमार्ण कार्यको म्याद पटकपटक थप्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । लामो समयसम्म पनि पुल निमार्ण नहुँदा यहाँका स्थानियहरुले सास्ती खेप्दै आईरहेका छन् भने यातायातका साधनहरुलाई पनि बर्षातको समयमा आवतजावत गर्न निकै समस्या हुँदै आएको छ ।

२०७९ फागुन १५ भित्र मोटरेबल पुल निर्माण सक्ने गरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो ।

तर निमार्णको जिम्मा लिएको करिब पाँच बर्ष बितिसक्दा पनि निमार्ण कार्य सम्पन्न हुन नसक्दा उक्त निमार्णधिन पुल अलपत्र अवस्थामा परेको हो ।