झाडीबाट उद्धार गरिएकी शिशुको नामाकरण ‘सुरभि प्रेमअर्पिता” – स्वास्थ्य अवस्था अझै जटिल

समाचार

गोलबजार, गत असोज २८ गते झाडी भित्र बेवारिसे अवस्थामा फेला परेकी शिशु ( बालिका ) को नामाकरण गरिएको छ । उनको नाम ‘सुरभि प्रेमअर्पिता ’ राखिएको छ । अब उप्रान्त ती शिशुको समाचार लेख्दा सुरभि उल्लेख गरिने छ ।

सुरभिको गोलबजार स्थित बर्धमान अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ । शिशुको स्वास प्रस्वास असमान्य भएको र अक्सिजन हटाउँदा सास रोकिन खोज्ने समस्या देखिएको छ । त्यसैगरी शरीरमा केही कठोरपना र खुट्टामा भएको संक्रमण निको पार्न कठिनाइ भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक बाल रोग विशेषज्ञ मुकेन्द्र साहले शिशुको टाउको सिटी स्क्यान गरेर भित्र चोट भए नभएको हेर्नु पर्ने भएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएका छन् ।

यसै बीच शिशु सुरभिलाई बचाउन नोवेल अस्पताल बिराटनगरले सबै उपचार निशुल्क गर्ने जानकारी दिएको छ । शिशु सुरभिको उद्धारकर्ता र उपचारमा सहयोग गर्नेहरु बीच नोवेल अस्पताल बिराटनगर लैजाने बारे छलफल भइरहेको छ । जिल्ला प्रशासन कार्यालय सिरहासँग पनि समन्वय भइरहेको उद्धारकर्ता गोलबजार नगरपालिका वडा नं. १० का वडाध्यक्ष उपेन्द्र मुखियाले बताएका छन् ।

बालिका सुरभिलाई असोज २८ गते गोलबजार नगरपालिका वडा नं १० धोवियाधार जंगलबाट बेवारिसे अवस्थामा भेट्टाएर उद्धार गरिएको थियो ।