‘अनिष्टकारी अध्यादेश खारेज गरियोस्’ : भीम रावल

विविध

सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाकै स्थायी कमिटी सदस्य भीम रावल यसको विरोधमा उभिएका छन् । सामाजिक सञ्जाल ट्‍वीटरमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै सरकारले आज ल्याएका दुबै अध्यादेश घातक हुने उल्लेख गरेका छन् ।

‘तत्कालीन नेकपा (एमाले)को निकै ठूलो प्रयासपछि संवैधानिक परिषद्‍मा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो’ उनले भनेका छन्, ‘यसविरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनःराजनीतिक अस्थिरता र बाह्‍य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्‍न भएको छ । यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ ।’

सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्ययादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् ।