प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको आवाज र भावनालाई विगतका सरकारहरूले सुन्न नसकेको बताउँदै उक्त कमजोरीलाई सबैले विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताएकी छन्।
जेन-जी आन्दोलन सुरु भएको एक महिना पुगेको अवसरमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले युवाहरूको बलिदान पछाडि लुकेको परिवर्तनको तीव्र चाहनालाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्।
‘विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न सकेनन्, उनीहरूको माग सम्बोधन गर्न सकेनन्। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ,’ सन्देशमा प्रधानमन्त्री कार्कीले भनिन्।

उनले युवाहरूमा व्याप्त निराशाका बाबजुद देशप्रतिको उत्कट प्रेमको सम्मान गर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले युवाहरूको बलिदान पछाडि राजनीतिक तथा आर्थिक सुधार, न्याय र विधिको शासन तथा भ्रष्टाचारमुक्त समाजको तीव्र चाहना लुकेको उल्लेख गरिन्। ‘युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात गर्न जरुरी छ,’ उनले भनिन्।
सरकारले युवाहरूले चाहेको परिवर्तनप्रति प्रतिबद्धता जनाउँदै नयाँ मार्गमा अघि बढेको प्रधानमन्त्रीको भनाइ थियो। उनले पीडित परिवारलाई राहत, घाइतेको उपचार र उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने लगायतका कामहरू अघि बढाइसकिएको जानकारी दिए।
प्रधानमन्त्री कार्कीले सबै पक्षलाई संयम् राख्न र हिंसा रोक्न अनुरोध पनि अनुरोध गरेकी छिन्।

