काठमाडौं । हामी नेपालीका संयोजक सुदन गुरुङले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न माग गर्दै ‘एरेष्ट क्याम्पेन’ सुरु गरेका छन्। उनले राष्ट्रका लागि “केही गर्न वा मर्न” भन्दै अभियान अघि बढाएको घोषणा गरेका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको दमनको बेला सरकारको नेतृत्व ओलीले गरेका थिए भने गृह मन्त्रालयको जिम्मा लेखकले सम्हालेका थिए। भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको छ।
आयोगले ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का गरेको छ। साथै उनीहरूले काठमाडौं उपत्यका छाड्न प्रशासनको अनुमति लिनुपर्ने आदेशसमेत बाहिरिएको छ।

यसैबीच, सुदन गुरुङले सार्वजनिक गरेको ‘एरेष्ट क्याम्पेन’मा तत्कालै पक्राउ गर्न माग गरिएको छ। उनले चेतावनी दिँदै भनेका छन्, “यदि तत्काल कारबाही भएन भने राष्ट्र आफैं एक्सनमा उत्रनेछ।”

