काठमाडौं – नेपालका सबै जिल्लामा कोरोना परिक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत् दिइएको जानकारी अनुसार कोरोना संक्रमण भए नभएको पुष्टि गर्नको लागि दुईवटा विधीमार्फत् ३३ हजार ५ सय ६२ जनाको जाँच गरिएको छ ।
हालसम्म र्यापिड डाईग्नोस्टिग टेष्ट आरडिटी विधीमार्फत् २५ हजार १ सय ४८ जनाको जाँच गरिएको छ भने पिसीआर विधीको माध्यमबाट हालसम्म ८ हजार ४ सय १४ वटा जाँच गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सबै प्रदेशमा यो प्रविधीमार्फत् जाँच सुरु गरिएको जानकारी दिँदै प्रदेश नम्बर एकमा हालसम्म २ हजार ३ सय ४९ वटा परीक्षण भएको बताए, उनले थपे प्रदेश नम्बर २ मा हालसम्म ३ हजार २ सय ३८ वटा, बाग्मती प्रदेशमा हालसम्म ४ हजार ६ सय ७६ वटा, गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१ वटा, प्रदेश नम्बर ५ मा २ हजार ३ सय २४ वटा कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ वटा र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ७८ वटा परीक्षण भएको छ ।
यसैबीच वेवपेज र मोबाईल एपमा कल गरेर आफ्नो विवरण टिपाई स्वमूल्यांकन गर्नेहरुको संख्या २१ हजार २ सय ९१ जना पुगेको छ । जसमध्ये ४ सय ५७ जनाले गत २४ घण्टामा आफ्नो विवरण स्मूल्यांकनको फाराम भरेकोमध्ये उनीहरुको लक्षणको आधारमा ३ जना रेड जोनमा परेका छन् ।
हालसम्म रेड जोनमा पर्नेको संख्या २ सय ६३ पुगेको छ । रेड जोनमा पर्नेहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम गरिरहेको प्रवक्ता डाक्टर देवकोटाले बताए ।
हालसम्म ५ हजार ९ सय ३६ जना क्वारेन्टाईनमा छन् ।
आईसोलेसनमा बसेका बिरामीको संख्या १ सय ११ जना रहेको छ । काठमाडौं उपत्यका ४ जना छन् भने उपत्यकाबाहिर १ सय ७ जना छन् ।
