अविरल वर्षा र बाढी जोखिमबीच प्रधानमन्त्री कार्कीको विशेष सम्बोधन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीरतापूर्वक लिँदै शनिबार साँझ विशेष सम्बोधन गरेकी छन्।

उनले अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्। हाल देशका धेरै नदी–नालामा बहाव सतर्कता तह नाघिसकेको र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना बढेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले भनिन्, “यो चुनौतीपूर्ण समयमा म सबै नागरिकलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन्। तपाईंहरूको सुरक्षा नै हाम्रो प्रमुख चिन्ता हो। राज्यका सम्पूर्ण स्रोत आज तपाईंहरूसँगै छन्। तपाईं यो कठिन समयमा एक्ला हुनुहुन्न।”

विपद् जोखिमको सम्भावना ध्यानमा राख्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रधानमन्त्री कार्कीले जानकारी दिइन्।

सम्बोधनको पूर्णपाठ

 आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ । हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौँ र जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदी नालाहरुको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।
यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन् । यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा रहेका छन् ।
हामीले सबै उपलब्ध स्रोतहरु परिचालन गरेका छौँ र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । हामी महत्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरु पुनः खोल्नलाई प्राथमिकता दिनेछौँ । हाम्रा टोलीहरुले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु । तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस् । अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस् । बाढीको पानीमा वा पहिरोमा गाडी नचलाउनुहोस् वा आवातजावत नगर्नुहोस् । तीव्र बहाव, डुबान र अस्थिर सडकहरुको खतरा उच्च छ ।
यदि तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस । प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरुलाई ध्यान दिनुहोस् । तपाईंहरुको सुरक्षा नै हाम्रो सरोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस् । सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
हामी तपाईहरुको चिन्ता र कठिनाइलाई बुझ्छौँ । म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोतहरु आज तपाईंहरुसँग छन् । हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ । हामी नियमित रुपमा अद्यावधिक सूचना तथा जानकारीहरु प्रसारण गरिरहनेछौँ । अन्तमा यहाँहरुसँग मेरो अनुरोध छ, यहाँहरु सुरक्षित र सावधानीपूर्वक रहनुहोस् । धन्यवाद