जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलि प्रदान भएको छ ।
हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।
अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले यस वर्ष बलि प्रदानका लागि प्रतिबोका ३ सय रुपैयाँका दरले लिएको थियो ।